10 August, 2014 | By Kshiteez
Nepali Edition. नेपाली संस्करण । विचार/विश्लेषण ।
आपराधिक पृष्ठभुमिका चर्चित डन तथा गुण्डा नाईके दिनेश अधिकारी "चरी" प्रहरीसंगको दोहोरो मुठभेटमा मारिए पछी यतिबेला एमाले पार्टी कार्यालय बल्खु पुरै शोकमा डुबेको छ । आफ्नै दलको नेता गृहमन्त्री जस्तो शक्तिशाली पदमा विराजमान भएको बेला चरी मारिनु उनीहरुको लागि अप्रत्याशित र षड्यन्त्र झैँ लाग्दो हो । घटना भए लगत्तै एमालेद्वारा प्रकाशित विज्ञप्ति, अध्यक्ष के.पी ओली र अन्य जिम्मेवार नेताकार्यकर्ताहरु बाट आएका उग्र प्रतिकृयाले यसै भन्छ ।
सिन्धुपाल्चोकको पहिरोमा पुरिएर १५६ जना मरेको घटना होस या नेपालगन्जमा एकाबिहानै एउटी चेली बसभित्रै सामुहिक बलात्कारमा परेको घटना । यी दुवै घटना कुनै एमाले नेतागण र सभासदका लागि चर्चा र चासोको विषय बनेन । तर एउटा कुख्यात गुण्डा मुठभेटमा मारिएको घटनाले उनीहरुलाई एक्कासी गम्भीर बनायो । जनता रोग, भोक र अशिक्षाले थलिएको प्रंसगले नतातेको संसद भवन उनिहरुले एउटा पेशेवर अपराधी मारिएको विरोधमा अगोसरी रन्काए । गज्जब गाईजात्रा देखियो जब एमाले सभासदले गुण्डा मार्ने पुलिस बर्खास्तीको माग गरे । उसैका हनुमान कार्यकर्ताहरुले शिक्षण अस्पताल तोड्ने देखि लिएर धादिङ जिल्ला बन्द गर्नेसम्मका दुष्कार्यहरु गर्न भ्याए ।
फेरि प्रंसग एउटा "चरी" को मात्रै पनि हैन, एमालेले संरक्षण दिएका अन्य गुण्डाहरुको पनि हो । हिजो मारिने चरीका गडफादर एमाले अध्यक्ष के.पी ओली हुन भने अर्का कुख्यात डन चक्रे मिलन अझै पनि ईश्वर पोखरेलका दाहिने छन । महेश बस्नेत जस्ता अपराधीहरु एमाले भातृसंगठन युवा संघ मोरङका अध्यक्ष भएर बसेका छन भने पर्शुराम बस्नेतहरुले गज्जबको सेल्टर पाईरहेका छन । अरु सानातिना स्थानीय गुण्डाहरुको त के कुरा गर्ने ।
म जस्ता धेरै जना यो चर्तीकला हेरेर चकित पर्छौं । अवाक हुँदै प्रश्न गर्छौं, "आखिर किन एमालेलाई अपराधीहरुको यत्रो मोह ? आफ्नो कार्यकर्ता भन्दै गुण्डागर्दी र डनहरुलाई काखी च्याप्नु कत्तिको जायज ?" प्रश्नै प्रश्नको भुमरीमा फसिन्छ तर उत्तर आउदैंन । यत्तिकाले प्रश्न गर्दा पनि लोकलाज पचाएर एउटा गुण्डाका लागी उफ्रदैँ छन एमाले नेतागण र तिनका हनुमन्ते कार्यकर्ताहरु ।
एमालेको एउटा मोहोडा मात्रै हो । नेपालमा राजनीति र अपराधको सम्बन्ध एकदमै कसिलो भइसक्यो । राजनैतिक दल र तिनका नेताकार्यकर्ताहरुले आफ्ना स्वार्थसिद्ध गर्ने हेतु समाजमा कुख्यात भनी कहलिएका अपराधी, गुण्डाहरुलाई राजनैतिक सहयोग, संरक्षण दिन्छन । छत्रछाँयामा राख्छन । बल्ल बल्ल अपराधीलाई पक्रेर ल्यायो, कानुनले दोषी ठहर गरेर पनि माथिल्लो स्तरका नेता, मन्त्रीको दबाबमा उनिहरुले उन्मुक्ति पाउछन् । हाम्रो नजरमा यो कार्य राजनैतिक अपराधीकरण भए पनि उनीहरु त्यसलाई सामन्य र एकदम जायज देख्छन । फलस्वरुप एकातिर आपराधिक क्रियाकलापमा झनैं वृद्धि भएको छ भने अर्कोतिर अपराध नियन्त्रणमा सक्रिय प्रहरी प्रशासनको मनोबल गिर्दो छ ।
आफैँले पोसेको गुण्डागर्दी र राजनैतिक अपराधीकरणको सिकार बनी अकाल मृत्यु वरण गर्ने जनताप्रति मुकदर्शक हुने तर दुनियाँलाई सास्ती दिएका समाजका कसिगंरहरु प्रहरी ईन्काउटरमा मारिदाँ गैरन्यायिक हत्या भन्दैँ उत्पात मच्चाउने कार्य कुन नैतिकताको उपज हो भन्ने कुरा एमाले आफैँले प्रष्ट्याउन जरुरी छ । स्वाभाविक हो, अरुलाई दु:ख दिनेले जिन्दगीमा कहिल्यै सुख पाउदैंन । अरुलाई झुक्काएर, धम्क्याएर, ठगेर, लुटेर, पिटेर वा मारेर "चरी" ले सधैंभर चैनको स्वास फेर्न पाउदैंनथे र पाएनन पनि । आखिर पाप धुरी बाट कराएरै छाड्यो । अपराध समाजको लागी विषवृक्ष हो भने "चरी" जस्ता गुण्डाहरु त्यसका हाँगा । उनीहरुलाई अपराधको दुनियाँमा फल्न/फुल्न प्रोत्साहित गर्ने विषवृक्षको जरा नउखेलिदाँसम्म अरु धेरै दिनेश अधिकारीहरु त्यसको शिकार बन्नेछन । अरु धेरै "चरी" हरुले बदनाम मृत्यु वा भनौं "कुकुर मृत्यु" मर्नुपर्नेछ जसको सम्झनामा कसैले एक थोपा आँसु सम्म झार्नेछैँनन ।
एमालेजन र सम्पुर्ण राजनैतिक अपराधीकरणका पक्षपोषकहरुले यो तथ्यलाई बुझुन ।